मुटु रोगका बिरामी बढ्दै - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 29, 2021

मुटु रोगका बिरामी बढ्दै

 

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।

उहाँका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ ।
नेपालमा १८ वर्षमाथिका ३५ प्र्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । डा. रेग्मीले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् । डा. रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तìव रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिनुभयो ।

सरकारको प्राथमिकता मुटु रोग रोकथामभन्दा पनि उपचारमा बढी भएको उहाँको विश्लेषण छ । सरकारले उपचारमा हैन रोकथामा केन्द्रित नीति बनाउनुपर्ने उहाँको धारणा छ । सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको छ । यस्तै बाथ मुटु रोगका बालबालिकालाई समेत निःशुल्क उपचार गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले विपन्न सहायता कोषबाट पनि मुटु रोग लागेका व्यक्तिलाई एक लाख रुपियाँ सहयोग गर्ने गरेको छ ।

मुटु रोगका कारण हृदयाघात हुने सम्भावना हुन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शिवजी सिलवालले हृदयाघात भएको अवस्थामा त्यसको लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्ने बताउनुभयो । उहाँले हृदयाघात हुनेबेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पूरा छाती भारी भएको महसुस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङको तल्लो भाग दुख्ने लक्षण देखा पर्ने बताउनुभयो ।

उहाँले पिठ्यूँ, बङ्गारा, गर्धन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने, अपच हुने, श्वास फेर्न गाह्रो भएको महसुस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनी हुने, स्वाँ स्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षण देखा पर्ने जानकारी दिनुभयो ।

डा. सिलवालले मानिसलाई हृदयाघात भएको शङ्का भएमा तत्कालै हृदयरोग अस्पतालमा जान सल्लाह दिँदै त्यो बेला एस्पिरिन ट्याब्लेट बिरामीलाई तत्कालै ख्वाइदिनुपर्ने बताउनुभयो । हृदयाघातको अवस्थामा तत्काल उपचार भएमा रक्तनलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहने भन्दै भविष्यमा आइपर्न सक्ने समस्यालाई पनि जगाउन सकिने बताउनुभयो ।

डा. सिलवालले ९६ प्रतिशतभन्दा बढी एन्जियोप्लास्टि प्रक्रिया तत्कालै सफल हुने भन्दै रोकावट भएको धमनीबाट रक्तप्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने बताउनुभयो । मुटु रोग विशेषज्ञ डा. रोशन राउतले मुटुको चाल गडबढी हुने रोग मुटुको अर्को समस्या रहेको बताउनुभयो । उहाँले मानिसको मुटुको चाल प्रतिमिनेट ६० देखि एक सयसम्म चल्नुपर्ने भन्दै ६० भन्दा पनि धेरै कम भएमा समस्या देखापर्ने बताउनुभयो । गोरखापत्र 

No comments:

Post a Comment