एक विद्यार्थीको भावना - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 11, 2021

एक विद्यार्थीको भावना



“ए बाबु छिटो खाना खान आइज भनेको! भात सेलाइसक्यो कत्ति त्यहीँ फिरफिरे खेल्दै बस्छस् भनेको , जत्ति भने पनि नलाग्ने!” वल्लो घरको अन्टीको आवाज आउँछ।

“हरे शिव ! अझै तेरो नाटक देखाएर भ्याइएको छैन ? टिकटक हो कि के जाति हो बनाएर सकिएन। पढ्न ढिलो भइसक्यो ” पल्लो  घरे अन्टी बलेसीबाट कराउनुहुन्छ। 

यी त भए कोराना कालको सहरी क्षेत्रका सामान्य उदाहरण जुन मेरो कानको लागि परिचित शब्द जस्तै बनिसकेका छन्। यो सँगै गाउँको परिवेशलाई पनि कोरानाको विषम् परिस्थितिले एकदम थला पारेको छ। खैर, मेरो व्यक्तिगत अनुभवमा प्रकृतिमा रमेका कलिला कोपिला भन्दा कंक्रिट भवनमा पिल्सिएर ओल्याइएका कोपिलाहरु वढी मात्रामा भित्र-भित्रै मनोभावनाको रुपमा पिडित भएको जस्तो लाग्छ।

यहाँ मैले मेरो अनुभव भन्दा पनि वास्तविकताको चित्रणको रेखा कोर्न कोसिस गरेको छु। यो कोरानाबाट पिडित नभएको को नै होला र! अचानोको पीडा खुर्पालाई थाहा हुदैँन भने जस्तै यो समयमा सबका आ-आफ्ना समस्याका भारीले सबैलाई थिचेको छ र सबैलाई आफ्नै समस्या ठुलो लाग्नु स्वाभाविक हो । झन् त्यसै त साना बच्चाका नामले खासै केन्द्रबिन्दुमा नराखिने विद्यार्थी वर्गलाई यो कोरानाको आगोले शारिरिक, मानसिक,सामाजिक, क्षैक्षिक आदि अनेकौँ क्षेत्रमा कति हो कति थिचिएका छन्। एकपल्ट तपाई आफ्नै छोराछोरीलाई हेरेर सोच्नुहोस् त?

कोराना भन्दा पहिलाको जिन्दगी चलेको भए म पनि तपाईकै छोराछोरी जस्तै भएर विद्यालयमा गई नेपाली शिक्षा प्रणालीमा रमाउँथे तर अहिलेँ परिवेश फरक भएको छ। सधैँ साथीभाइहरुसँग जिस्किदैँ हासखेल गरी पढ्ने बानी भएको आज सहरमा बस्ने विद्यार्थीहरु चारकोठे सानो भवनमा निस्साएिर अझै पनि घोकन्ते शिक्षामै जोड दिनुपरेको छ। अझ गाउँको कोराना शैक्षिक अवस्थाको त कुरै नगरौँ। अनलाइन पढ्नको लागि मोबाइलको टावर नटिपेर रहरले नभई कहरले गर्दा रुख-रुखमा चढेर पढ्नुपरेको हृदयविराक तस्बिरहरु सञ्चार माध्यममा देख्दा देख्दै अहिलेँ त आदत नै भइसकेको छ। यो समयमा धनी वर्गका विद्यार्थीहरुलाई त आर्थिक रुपले केहीँ फरक नपर्ला तर दुई छाक खाना पनि धौधौ पर्ने गरिब वर्गका विद्यार्थीले आफ्नो दैनिकी कसरी गुजारा गर्दै छन् होला त्यो कल्पना पनि गर्न सकिन्न। यी त भए यो विषम परिस्थितिले निम्त्याएको समस्या जसमा विद्यार्थीसँग सम्बन्धित रहने व्यक्तिहरुले यो समस्यालाई झन् मलजल गरिरहेका जस्तो मात्र आभाष हुन्छ।

आफ्नै छोराछोरीको लागि मरिमेटी काममा लागिराखेको छु भन्ने अभिभावक नै त्यहीँ आफ्नो बच्चालाई समय नदिँदा नै उनीहरुको छोराछोरी हरेक क्षेत्रबाट पिडित भएका छन्। म हरेक घरमा एउटै मात्र आवाज सुन्छ ु“बाबु/नानी पढाई नै जिन्दगी हो। हेर बाबै! हामीले नपढेर दुख पाइयो। तैले जसरी भएपनि परीक्षमा यत्ति नम्बर भने जसरी नि ल्याउनुपर्छ।” तर मैले विरलै मात्र “बाबु/नानी सिकाइ नै जिन्दगी हो। किताबमा पाइने ज्ञान आफ्नो जीवनमा उतार्न सकियो भने मात्र असल व्यक्ति भइन्छ, अनि असल भएपछि त सबैको प्रिय भइन्छ” भन्ने आवाज कम नै सुन्छु। यसको अर्थ आजको कोरानामय समाजमा प्रयोगात्मक शिक्षालाई भन्दा पनि घोकन्ते शिक्षालाई अझ बढी प्राथमिकता दिइएको पाइन्छ। 

यो कोरानाको समयमा एक हिसाबले भन्दा खेरि हामी विद्यार्थी स्कुलको वातावरणले नभई घरको वातावरणले गर्दा बढी पीडित भएका छौँ। दिनभर प्रविधिको संसारसँग नजिक हुँदा हुँदै अधिकांश विद्यार्थीहरुको बानीव्योहरा स्वचालित रोबोट जस्तै बन्न पुगेको छ। एउटा मोबाइलको सहायताले पढ्न लागाउने अभिभावकले दिनभर आफ्नो बच्चा दिनभर के गरिराखेका छन् पत्तै हुदैँन। अनि बच्चाहरु सामाजिक सञ्जाल र विभिन्न अनलाइन खेलमा आफ्नो समय कटाउनको लागि व्यस्त हुन्छन्। यहीँ कुरा नै बिस्तारै बिस्तारै विद्यार्थीको लागि लत बन्न पुग्छ। यसको दोषी विद्यार्थी हुन् वा अभिभावक? आफैँ मूल्याङ्कन गर्नुहोला । रहरले नभई कहरले गर्दा अभिभावकहरु रोजीरोटीको लागि धेरै समय काममा नै व्यस्त हुनुपर्ला तर २४ घण्टामा कम्तीमा पनि २ घण्टा मात्र भए पनि आफ्नो अभिभावकसँग बच्चाहरु आफ्नो मनका भावनाहरु साट्न पाए पनि एकदम खुसी हुन्छन्। तर घर आउने बित्तिकै आफ्नो छोराछोरीसँग रम्नुको साट्टो सामाजिक सञ्जालमा रम्ने अभिभावकहरुलाई के नै भन्नु छ र†

त्यसैगरी किशोरवास्थामा रहेका विद्यार्थीहरुलाई त यो कोरानाको समय तुफानकै अवस्था बनेर निस्केको छ। त्यसै त यो उमेरमा घरपरिवार भन्दा पनि साथीभाइसँग रमाउने बेला हो र कोरानाको समयमा पढाइको बाहना पारेर प्रविधिको दुरपयोग गर्दा यसले गर्दा दुरगामी असर देखाउने निश्चित छ। यो समयमा कोर्सबुक हेर्छु भन्दै फेसबुकमा मस्त भएर मायाप्रेममा फसेका धेरै उदाहरणहरु प्रशस्त  छन्। एकातिर यो उमेरमा आउने परिवर्तन स्वाभाविक हो र यो बेला मन र तनलाई आफ्नो काबुमा राखेर भविष्य बनाउन तर्फ अघि बढ्न सकियो भने भविष्यमा यो देशले एक सक्षम नागरिक पाउनेमा कुनै शङ्का नै छैन। तर, यो संवेदनशील समयमा ठूला व्यक्तिले विद्यार्थी उमेरका व्यक्तिहरुको भावना बुझ्न नसके विद्यार्थीहरु शारीरिक,मानसिक र सामाजिक रुपमा नकरात्मक असर पुर्‍याउन कुनै बेर लाग्दैन।

यो वर्तमानमा परिवेशमा सम्पूणर् विद्यार्थीको मनोभावनालाई केन्द्रमा राख्न सकिएन भने भविष्यको कणर्धार मानिने बालबालिकाबाट यो देशले अबको भविष्यमा के नै आस गर्न सक्छ र† हामीले जे लगानी गर्छौ त्यसको प्रतिफल मात्र पाउने हौँ तर कोरानाको समयमा विद्यार्थीलाई आत्म निर्भर बनाउनुको साट्टो परनिर्भर गराइरहेको हुनाले यसले पक्का दीर्घकालिन असर पुर्‍याउन सक्छ। त्यसको लागि स्वयम् विद्यार्थी, अभिभावक र सरोकारहरुले उचित ध्यान दिन आवश्यक छ।

यो कोरानालार्ई चुनौती रुपमा नलिई एक अवसरको रुपमा लिन सकियो भने यो समयको उचित सदुपयोग हुन सक्छ। विशेषत्ः विद्यार्थी वर्गहरु यो समयमा विद्यार्थीहरु विद्यालय नगई धेरैजसो समय घरमै भएको हुनाले यो समयलाई अधिकतम प्रयोग गर्न सकियो भने यो भन्दा स्वणर्ीम समय जीवनमा कमै मात्र पाइन सक्छ। खेल्ने, गाउने, नाच्ने, चित्र कोर्ने आदि जस्ता सिर्जनात्मक कार्यहरु यो बेला गर्न सकियो भने एक त कोरानाको समयमा मानसिक र शारिरिक रुपमा तन्दुरुस्त भइन्छ भने यसले आफ्नो व्यक्तित्व विकासलाई अझ माथि पुर्‍याउन समेत ठुलो टेवा पुग्छ। भनिन्छ नि खाली दिमाग राक्षसको घर हो, त्यहीँ भएर यो बाट बच्नको निम्ति आफ्नो दैनिक तालिका बनाई काम गर्न सकियो भने दिमागमा सकरात्मक विचारहरुको पोखरी बन्न थाल्छ। जीवनको यात्रामा धेरै कुरा जान्नु पर्ने भएकाले यो समयमा घरायसी कामहरु पनि सिक्न सकिन्छ। ब्रहम्चर्य जीवनकालमा भविष्यम उच्च शिक्षको लागि भनेर घर छोडी आफैँ आत्मनिर्भर हुनपर्ने अवस्था आउनसक्छ, बरु यहीँ फुर्सदिलो समयमा अभिभावकलद्धारा  आफ्नो छोराछोरीलाई सामान्य रुपमा खाना मात्र पकाउन सिकाउन सकियो भने मात्रै पनि उनीहरुमा बिस्तारै जिम्मेवारपनको भावना वृद्धि हुन्छ। बच्चा त हुन् नि भनेर धेरै अभिभावकले खासै बच्चहरुको मनोभावनालाई केन्द्रमा राख्दैनन् तर विद्यार्थी कालमा नै सिकेको कुराहरु जीवनभरको लागि उपयोग गर्न सकिन्छ जसले गर्दा यसले भविष्यको रेखा कोर्न समेत ठुलो सहयोग पुर्‍याउँछ। 

मुख्यत, कुनै कुराको मूल्य नभई महत्वलाई केन्द्रविन्दुमा राख्न सकियो भने जीवब साँच्चकै सुन्दर र आन्नदमय बन्छ। तसर्थ, यो कोरानाको समयमा हरेक अभिभावकहरुले विद्यार्थीहरुलाई व्यवहारिक जीवनको महत्वलाई राम्रो सँग बुझउन सक्नुभयो भने अवश्य पनि यो समयले एउटा युगलाई नै कायपलट गर्न सकिन्छ। 

                                             -  रामकृष्ण भण्डारी , पोखरा ११ फुलबारी 

No comments:

Post a Comment