नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, November 30, 2021

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग


चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग गरिएको छ ।


महाधिवेशन मार्फत एकताको सन्देश दिन दुवै प्रक्रियाको उच्चतम प्रयोग गरिएको हो । शनिबारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते हलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको नामावली प्रस्ताव गर्ने जिम्मा दिएको थियो । त्यसका लागि आइतबार दिनभर अध्यक्ष ओलीले पार्टी नेताहरुसँग परामर्श र छलफल गरी मङ्सिर १२ गते ढिला गरी सुरु भएको बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्तुत गरेपछि हलले समर्थन गरेको थियो ।


देशभरबाट सहभागी प्रतिनिधि र कार्यकर्ताको दबाब पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्नेमा थियो । उनीहरुले बन्दसत्र स्थल बाहिर नाराबाजी गरेर समेत दबाब दिएका थिए । अध्यक्ष ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा अध्यक्षका उम्मेद्वार डा.भीम रावलले असहमति जनाउँदै निर्वाचनमा जानु नै उत्तम हुने बताउनुभयो । सोही अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरियो ।


पदाधिकारीमा हलमा प्रस्ताव गरिएको सूची अनुसार उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ र विष्णु पौडेलले हलको सहमति अनुसार उम्मेदवारी दिनुभएको छ भने त्यसका अतिरिक्त नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा निर्वाचन हुने भएको छ ।


महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल हलमा प्रस्तावित उम्मेदवार हुनुहुन्छ भने भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो । केन्द्रीय सदस्यमा पनि कतिपय सर्वसम्मत भइसकेको छ । बाँकीमा मतदान हुनेछ ।

No comments:

Post a Comment