नेकपा एमालेको १०औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने - Reporters7

Breaking

Post Top Ad

 


Thursday, November 18, 2021

नेकपा एमालेको १०औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने


 नेकपा एमालेको १०औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताउनुभएको हो । र्‍याली यही मंसिर ७ गते हुने छ ।


महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेषगरि काठमाडौं–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।


उहाँका अनुसार मंसिर १० गते १२ बजे नारायणगढ जाऔं भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो । वागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्‍यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो ।


मंसिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक जिल्ला एक स्वागतद्धार निर्माणमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । मुख्यगरी पूर्व–पश्चिम-उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिकाहरु, मुख्य बजारहरुमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।


एमालेले महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने संयोजक भट्टराईले बताउनुभयो । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी लगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उहाँको भनाइ छ ।


पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० भिडियो तथा अडियो क्लिप र वृत्तचित्र बनाएर प्रचार गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचार–प्रसारका लागि सञ्चार माध्यमका साथै फेसबुक, टिकटक र ट्वीटर लगायतका सामाजिक सञ्चालको प्रयोग गर्ने उहाँको भनाई छ ।


उहाँले सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब कम्युनिष्टहरु वैचारिक र सैद्धान्तिक हिसाबले एउटै पार्टी बन्नेछन् ।” अहिले देशमा दुई विचार धार रहेको भन्दै उहाँले अघिल्ला गल्तिलाई नदोहोर्‍याइ एकता गरिने बताउनुभयो । एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी बन्ने उहाँको भनाइ थियो ।


संयोजक भट्टराईले दर्जनौं देशका राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधि आउने निश्चित गरिसकेका छन्, नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।”


भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न सङ्गठनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत भइसकेकाले यसपटकको महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गर्नुभयो ।


प्रचारप्रसार सहयोग समिति गठन


यसैबीच महाधिवेशनको प्रचारप्रसारलाई थप व्यवस्थित गर्न १० औं महाधिवेशन प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चितवन समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा एमाले नेता केशव रेग्मी र सचिवमा पत्रकार तिलकराम रिमाल रहनुभएको छ ।

No comments:

Post a Comment