कोभिडः खोप लगाएका मानिसमा कोरोना भाइरस सङ्क्रमण हुने जोखिम कति, के मास्क नलगाउँदा पनि हुन्छ? - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, August 17, 2021

कोभिडः खोप लगाएका मानिसमा कोरोना भाइरस सङ्क्रमण हुने जोखिम कति, के मास्क नलगाउँदा पनि हुन्छ?

  


भाद्र १, नेपालमा विगत केही सातायता कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने दर २० देखि २५ प्रतिशतको बीचमा रहँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोभिड महामारीको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने प्रक्षेपणबीच सङ्क्रमण दर अझै घट्न नसक्नु चिन्ताको विषय भएको स्वास्थ्यविद्‌हरू बताउँछन्।

प्रतिबन्धात्मक कदमहरू खुकुलो पारिएसँगै कडाइका साथ जनस्वास्थ्यका मापदण्डको पालना गर्न तथा गराउन नसक्नु अर्को चिन्ताको विषय भएको उनीहरू औँल्याउँछन्।

जनस्वास्थ्यसम्बन्धी नियमको पालनासँगै खोप अभियानलाई थप तीव्र बनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे सुझाउँछन्।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक एक लाख ५० हजारदेखि दुई लाख व्यक्तिलाई कोभिड खोप लगाउने सरकारी लक्ष्य रहेको बिहीवार संसद्‌लाई बताएका थिए।

आइतवार अपराह्ण प्रकाशित विवरणअनुसार नेपालमा पूर्ण मात्रामा खोप लगाउने मानिसको सङ्ख्या ३३ लाख ६४ हजार नाघेको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र अमेरिकी जोनसन एन्ड जोनसनको खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

के खोप लगाउँदैमा सङ्क्रमण हुँदैन?

पूर्ण मात्रामा कोभिड खोप लगाइसकेपछि सङ्क्रमण नै हुँदैन भन्ने बुझाइ गलत भएको जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्।

सङ्क्रमण र मृत्युदर घटाउने विषय कुन खोप लगाइयो भन्ने कुरामा पनि फरक पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

“नेपालमा प्रयोग भइरहेको अक्सफर्ड-आस्ट्राजेनेका खोपले डेल्टा भेरिअन्टको हकमा पनि सिकिस्त हुने, आईसीयूमा भर्ना हुने दर ९० प्रतिशतको हाराहारीमा घटाएको र मृत्यु हुने दर झन्डै ९५ प्रतिशतले घटाएका तथ्याङ्क छन्।”

युरोपेली देशहरूमा पनि त्यो खोपको प्रयोग भएकोले तथ्याङ्कहरू पाउन सहज भएको उनको ठम्याइ छ।

डेल्टा भेरिअन्टको हकमा भेरो सेलको प्रभावकारितासम्बन्धी तथ्याङ्क उपलब्ध नभए पनि अल्फा भेरिअन्टको हकमा उनी भन्छन्, “त्यसले पनि लक्षणसहितको सामान्य सङ्क्रमण दर ५० प्रतिशतले घटाएको तथ्याङ्क छ।”

डा. सुवेदीका अनुसार खोप लगाएका मानिसमा पनि सामान्य लक्षणसहितको सङ्क्रमण हुने सम्भावना रहन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वर्तमान निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि खोप लगाएका मानिसहरू समेत सङ्क्रमित भइरहेको बताउँछन्।

“फरक के हो भने खोप नलगाएका मानिसको तुलनामा लगाएका मानिसमा एन्टिबडी अर्थात्‌ रोगप्रतिरोधी क्षमताको विकास भइसकेको हुनाले उनीहरू सङ्क्रमित भए पनि जटिलता देखिने सम्भावना कम रहन्छ।”

“हामीले लगाउने गरेका कुनै पनि खोप शतप्रतिशत प्रभावकारी छैनन्। त्यसैले खोप लगाउँदैमा छुट हुँदैन।” बिबिसी 

No comments:

Post a Comment