वर्षाका कारण पहिरो जाँदा राष्ट्रिय राजमार्गसहित म्याग्दी जिल्लाका सडक अवरुद्ध - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, June 15, 2021

वर्षाका कारण पहिरो जाँदा राष्ट्रिय राजमार्गसहित म्याग्दी जिल्लाका सडक अवरुद्ध


असार १, तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा राष्ट्रिय राजमार्गसहित म्याग्दी जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी-जोमसोम-कोरला सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा आज बिहानैदेखि सडक पूर्ण रुपमा बन्द भएको छ ।

बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर, नागढुङ्गा र ३ नम्बर वडा दानाको रुप्से खोलामा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

वर्षाका कारण सडकभन्दा माथिबाट ढुङ्गा र माटो खस्ने क्रम नरोकिएको हुँदा तत्काल सडक खुलाउन कठिनाई भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक डिएसपी) श्यामकुमार राईले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको तीनवटा गाउँपालिका मंगला-मालिका र धवलागिरिलाई जोड्ने बेनी–दरबाङ सडकखण्डको बेनी नगरपालिका–४, घुमाउनेभीरमा खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको डिएसपी राईले जानकारी दिनुभयो ।

त्यस्तै बेनी-मालढुङ्गा र बेनी-रत्नेचौर सडकखण्डको पनि विभिन्न स्थानमा भलबाढी तथा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

भारी वर्षाकै कारण म्याग्दी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडकहरु पनि हिलाम्मे हुनुका साथै बाढीपहिरोले अवरुद्ध बनेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि निर्माण व्यवसायी र स्थानीय तहसँगको समन्वयमा आवश्यक पहल थालिए पनि निरन्तर वर्षा परिरहेको हुँदा समस्या भैरहेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण कालीगण्डकी नदी, राहुघाट र म्याग्दीखोलामा बहाव ह्वात्तै बढेको छ । वर्षाले बाढीपहिरो र भलबाढी आएपछि नदी कटानको जोखिम बढको हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । सडक अवरुद्ध बनेसँगै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको छ ।

यसका साथै ग्रामीण भेकमा निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषकले उत्पादन गरेका तरकारी, दुध र फलफुललाई बजार पठाउन समेत समस्या भैरहेको छ ।

No comments:

Post a Comment