कोरोना संक्रमितसँग केही निजी अस्पतालले लुट मच्चाएको बिरामीका आफन्तको गुनासो - Reporters7

Breaking

Post Top Ad

 


Thursday, May 6, 2021

कोरोना संक्रमितसँग केही निजी अस्पतालले लुट मच्चाएको बिरामीका आफन्तको गुनासो


गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।

बिरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् ।

काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ । सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ । यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो ।

त्यस्तै, ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । सो अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामाअनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, आइसोलेसन रुमको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्डअनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५ सय, मध्यम जटिल केसका लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।

गम्भीर विरामीको आईसीयूमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर, केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।

No comments:

Post a Comment